पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
चन्दन कुमार यादव, राजविराज :
राजबिराजमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) मा सप्तरीले विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा सप्तरीले सिरहालाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गरेको हो।
बुधबार सप्तरी क्रिकेट संघको आयोजनामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले ३० ओभर १ बलमा सबै विकेट गुमाउँदै १२५ रनको सामान्य योगफल खडा गर्यो।
सिरहाका लागि शैलेन्द्र प्रसाद साहले सर्वाधिक ३१ रन जोडे भने प्रदिप पासवानले २८ रन बनाए।
त्यस्तै रूपेश सिंहले १८ रन तथा आनन्द कामतीले १२ रनको योगदान दिएका थिए।
सप्तरीको बलिङ आक्रमण प्रभावशाली देखियो। नितेश यादव (ए) र अजय यादवले समान ३–३ विकेट लिँदै सिरहाको ब्याटिङ लाइन ध्वस्त पारे।
कर्ण बहादुर विक र संजिव मण्डलले पनि २–२ विकेट हात पार्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।
१२६ रनको लक्ष्य पछ्याएको सप्तरीले २८ ओभर ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
जितका नायक बने अभिषेक कार्कीले संयमित र जिम्मेवार ब्याटिङ गर्दै नटआउट ५३ रनको अर्थशतकीय पारी खेले।
उनको उत्कृष्ट प्रदर्शनले सप्तरीको जित सहज बन्यो।
साथै रोहन विकले २० रन, रौनक सिंहले १४ रन तथा नितेश यादवले १० रन नटआउट जोड्दै टोलीलाई जिततर्फ डोर्याए।
सिरहाको बलिङतर्फ रूपेश सिंह र प्रदिप पासवानले समान ३–३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित अभिषेक कार्कीलाई अन्तर्राष्ट्रिय खेलाडी दिपेन्द्र चौधरीले ट्रफी प्रदान गरेका थिए।
सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवका अनुसार प्रतियोगिताअन्तर्गत बिहीबार सिरहा र महोत्तरीबीच प्रतिस्पर्धा हुनेछ।
प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरमा पहिचान दिलाउने अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।


Leave Comments
एक टिप्पणी भेजें